विप्लव समूहको नाममा ३ करोड चन्दा माग्ने चार जना पक्राउ !

 कोरखबर   २६ कार्तिक, २०७७



कातिक २६, काठमाडौं । प्रतिबन्धित नेकपा माओवादी (विप्लव) समूहको नाम लिएर चन्दा माग्ने चार जना पक्राउ परेका छन् । विप्लव समूहको नाम लिएर एजुकेसनल कन्सल्टेन्सी व्यवसायीसँग ३ करोड रुपैयाँ चन्दा मागेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–२ का विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका–३ का रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका ५ का तीर्थमान तामाङ र चितवन भरतपुर–१३ का नन्दुराज आचार्य छन् ।

उनीहरूलाई सोमबार साँझ काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख एसएसपी दीपक थापाले पक्राउ परेकाहरूले विप्लव माओवादीमा रहेर काम गरेको स्वीकार गरेको जनाएका छन् ।

पक्राउ पर्नेमध्ये नन्दुराज आचार्य कानुन व्यवसायी हुन् । उनले ३ करोड रकमको ‘डिल’ दुई करोडमा मिलाइदिने भन्दै कन्सल्टेन्सी व्यवसायीसँग कुराकानी गरेको खुलेको छ ।

उनीहरूले मागअनुसार चन्दा नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । हाल पक्राउ परेका सबैमाथि आपराधिक लाभ लिन नहुनेसम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post