साथीको हत्या गरी भागेका युवालाई गाउँलेले समातेर प्रहरीमा बुझाए !

 कोरखबर   २३ कार्तिक, २०७७



कार्तिक २३,काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय विकास वाइवाका हत्यारा ललितपुरबाट पक्राउ परेका छन्।

कात्तिक २१ गते दिउँसो साढे ३ बजे  साथीको हत्या गरेर भागेका  २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई ललितपुरमा गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। हत्या आरोपी  भोलन प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको हो।

सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा खुकुरीले हानेर शंकरले विकासको हत्या गरेको प्रहरीको भनाइ छ।

शंकरले विकासलाई लखेटी–लखेटी खुकुरी प्रहार गरेको र पछि घाँटी छिनाएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए। साथीको हत्यापछि शंकर फरार थिए।

मकवानपुर प्रहरीले जिल्लाभर व्यापक रुपमा प्रहरी परिचालन गर्दै जिल्लाका सीमा नाकाहरू समेत शील गर्दै भोलनको हुलिया र फोटो पठाएर खोजतलास व्यापक बनाएको थियो।

शनिबार साँझ ५ बजे ललितपुरको बागमती गाउँपालिका २ माल्टाका स्थानीयले शंका लागि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरीचौकी भट्टेडाँडा ललितपुरको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

भोलनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post