किशोरीलाई बलात्कार गरी हत्याको प्रयास गर्ने प्रहरीविरुद्ध मुद्दा !

 कोरखबर   १८ कार्तिक, २०७७



कात्तिक १८,काठमान्डौ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो । निज किशोरीलाई प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन् ।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आफन्तको भनाइ छ । 

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । यसैगरी निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा नीलडाम रहेको छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सधैँ फोन गर्ने गरेको पीडित किशोरीले आरोप लगाएकी छन् । —रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post