कात्तिक १७, काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा खाणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा खाणलाई पक्राउ गरिएको कालीमाटीका डीएसपी अपिलराज बोहोराले बताए । उनका अनुसार खाँड कक्षा १२ पढ्दै गरेका विद्यार्थी हुन्।
'उनले खान नपाएर पैसा चोर्न खोजेको बताएका छन्। तर हेर्दा खान नपाएको जस्तो देखिन्न,' उनले भने,'उनीमाथि थप अनुसन्धान गरिरहेका छौं।' पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।