काठमाडौं, कात्तिक ५ । यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित भएको छ ।
अन्ततः पानी पथान्तरणको वैकल्पिक संरचना (अस्थायी डाइभर्सन) बाट सुरुङमा पानी पठाएर २०७७ को दशैँसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने खानेपानी मन्त्रालयको घोषणा घोषणामै सीमित भयो ।
सुरुङमा जडान गरिएको (गेट) प्रवेशद्वारलाई पथान्तरण गरिएको पानीले भत्काएपछि यो दशैँमा पानी ल्याउन सम्भव नभएको मन्त्रालयको दाबी छ ।
अन्तिम अवस्थामा अम्बाथानको प्रवेशद्वार भत्किएपछि चारवटै प्रवेशद्वारको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको मन्त्रालयको भनाई रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।