असोज २३,काठमाडौँ । निलम्बित सांसद हरिनारायण रौनियारको सांसद पद फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
पुष्प कन्ट्रक्सनका मालिकसमेत रहेका रौनियार तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट निर्वाचित भएका थिए। सर्वोच्चले रौनियारको पद निलम्बनमा राख्नुको कारण भने पेश गर्न सरकार र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
श्रेष्ठको इजलासले उनले दिएको निवेदन अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ। दुई वर्षअघि आयोगले पप्पु कन्ट्रक्सन र त्यसका मालिक रौनियार, उनका छोरा समितसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार मुद्दा लागेपछि स्वत सार्वजनिक पद निलम्बिन हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको पद निलम्बनम परेको जानकारी आयोगले संसद सचिवालयलाई गराएको थियो।