फुटपाथे व्यापार : महानगरले गाँस खोसेको आरोप !

 राजिव कार्की   २१ असोज, २०७७



असोज २१,काठमान्डौ । सुर्खेतकी सम्झना चौधरी फुटपाथमा कपडा बेचेर दैनिक गुजारा चलाउछिन् । हरेक दिन उनि साँझको समयमा ठेलामा कपडा राखेर सुन्धारास्थित फुटपाथमा बिक्रीका लागी पुग्छिन् । तर हिजोआज उनलाई फुटपाथमा बसेर व्यापार गर्न सकस हुन्छ । नगरप्रहरी कतिवेला आँउने हो र व्यापारका लागी राखिएका सामान उठाएर लाने हो , मनमा यहि डर लिएर उनि ग्राहक कुरिरहन्छिन् । 

सम्झना त प्रतिनिधि पात्र मात्रै हुन् । काठमान्डौका फुटपाथमा व्यापार गरेर आफ्नो छाक टार्ने धेरै छन् । काठमान्डौ महानगरपालिकाले पछिल्लो समय फुटपाथमा बसेर व्यापार गर्नेहरुको सामान जफत गर्न थालेपछि उनिहरु सकसमा छन् । 

संक्रमण फैलने चिन्ता
चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भित्रियो । देशमा संक्रमण देखा परेपछि सरकारले ६ महिना भन्दा लामो समय देशलाई बन्दाबन्दीकै अवस्थामा राख्यो । लामो समयसम्म बन्द रहेका व्यापार व्यवसाय भर्खरै चलायमान हुँदैछन् ।

शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकबाटै हिँड्नुपर्ने अवस्था आएको भन्दै काठमान्डौ महानगरपालिकाले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान चलाईरहेको छ । लकडाउन पछिको यो समयमा त्यस्ता फुटपाथ पसलहरुमा ग्राहकको भिड बढ्ने र कोरोना भाइरसको संक्रमण झन फैलन सक्ने उसको भनाई छ ।

दशै नजिकिएको छ,बजारमा किनमेलका लागी निस्कनेहरुको भिड छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का संक्रमितहरु पनि दिनदिनै बढिरहेकै छन् । यो अवस्थामा फुटपाथमा पसल राखेर ग्राहकको भिड बढाउनु भनेको कोरोना संक्रमण फैलाउनु महानगरको ठहर छ । उसले त्यस्ता फुटपाथ अतिक्रमित व्यापारलाई नियमन गर्न नगर प्रहरी परिचालन गरिरहेको छ । नगरप्रहरीले त्यस्ता व्यापारीहरुको सामान जफत गरेर नगरको गाडीमा राखेर लैजाने गरेका छन् । 

फुटपाथमा व्यापार गर्नेबाट यात्रुको आवागमन विथोलिनुका साथै उपभोक्ता ठगिमा परेको भन्दै नियन्त्रणको अभियान सुरु गरेको महानगरले अहिले भने कोरोना संक्रमणको फैलावटलाई मुख्य विषय बनाएको छ । संक्रमण नियन्त्रणमा सचेत रहेको बताउने महानगरका प्रहरीले फुटपाथे व्यापारीलाई हायल कायल बनाउन थालेका छन् । 

गाँस खोसिएको आरोप
फुटपाथका बजार शहरी निम्न मध्यम वर्गीय परिवारमाझ निकै नै लोकप्रिय छ । समानहरु सस्तोमा पाइने भएकाले पनि फुटपाथमा समान किन्नेहरुको जमात ठूलै हुन्छ । झन लामो समयको बन्दाबन्दिपछि दशैको मुखमा खुल्दै गरेको बजारमा भिडभाड बढ्नु स्वभाविक हो । यस्तै भिडभाड हुने क्षेत्रमा कोभिड संक्रमणको जोखिम पनि बढि हुने स्वास्थ्य विज्ञहरु बताउंछन् तर फुटपाथका व्यापारीमा यसको नजिर गलत छ । 

व्यापारी सम्झना प्रश्न गर्छिन्– “ठुला पसलहरु पनि खुलेका छन्, त्यहाँ पनि भिडभाड छ , फुटपाथमा मात्रै जोखिम देख्ने सरकारको आँखा किन त्यता जाँदैन् ? उनि थप्छिन्– "हामी रहरले फुटपाथमा बसेका हैनौ, गाँस टार्ने बाध्यता छ हामीलाई पनि ।” संगै रहेका धादिङका कृष्ण श्रेष्ठ पनि महानगरको यो शैली प्रती सन्तुष्ट देखिएनन् । “कोरोना संक्रमणको डर त हामीलाई पनि छ नी तर भोकले रोग भन्दैन रैछ” गुनासो गर्दै उनले भने “सरकार हामीलाई बाँच्न देउ । ” 

सस्तो मुल्यमा सामान पाईने फुटपाथका बजार ग्राहकको पहिलो रोजाईमा पर्छन् । भक्तपुरकी सिता कर्माचार्य प्रायः फुटपाथमै सामान किन्छिन् । सोमबार पनि उनि कपडा छान्दै थिईन् । न्युरोडको एक सहकारीमा काम गर्ने उनि अफिस छुटेर निस्कदा फुटपाथे बजारमा किनमेलका लागी रोकिएकी थिईन् । “भिडभाड त यहाँ मात्रै हैन् , ठुला पसलहरुमा पनि छ,  सामान नकिनि पनि भएको छैन्,सस्तोमा सामान पाईने र घर फर्कने बाटो पनि यहि पर्ने भएकोले मलाई सजिलो लाग्छ” उनले भनिन् “स्वास्थ्य सुरक्षाका मापदण्ड त अपनाएकै छु , पसलमा समान किन्न आउनेहरुले पनि सतर्कता त अपनाउनै पर्छ ।” व्यापारीहरुले पनि सामान वेच्न मात्रै हैन् सतर्कतामा पनि ध्यान दिनु जरुरी रहेको उनि बताउछिन् ।  

नियमन गर्ने नितिमा महानगर
फुटपाथका बजारलाई अहिले कोरोना संक्रमणको जोखिम थलो ठानेको महानगरले फुटपाथको बजार नियमनको अभियान पहिलेदेखी नै सुरु गरेको हो । फुटपाथमा राखिने यस्ता व्यवसाय गैरकानुनी भएको र यसले अनौपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएकोले जसरी पनि नियमन गर्ने महानगरको निति छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post