ठगी गर्न प्रहरीको भेष धारण, असईको परीक्षा चलाउदै गर्दा बर्दीसहित समातिए !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,वीरगंज । प्रहरीको भेषमा नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने बाराका अजयकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेका हुन् ।

बुधवार मध्याह्न वीरगंज महानगर–१६ स्थित देव पार्टी प्यालेसमा प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेका बेला वडा प्रहरी कार्यालय, बिर्ताले उनलाई पक्राउ गरेको हो । 

उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र एक थान बरामद गरेको प्रहरीले जनाएको छ । 

परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । उनीसहित प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का शिवनारायण चौरसिया र वीरगञ्ज–२७ रानीघाटका रामजी चौरसियालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नक्कली लोक सेवाको परीक्षा सञ्चालन गरेर ठगी गर्ने योजना अजयकुमार रायले नै बनाएका थिए । नौ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्स्पेक्टर भन्दै यादवले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् । 

रायले परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ई.प्र.का. नगवा पर्सामा गई म प्रहरी निरीक्षक भन्दै रकम असुल्ने गरेका थिए । यसअघि राय २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परेका थिए । उनले वीरगंज कारागारबाट ११० दिनको कैद सजाय भुक्तान गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post