बन्चारोले हानेर बुहारीको हत्या गर्ने जेठाजु थुनामा !

 कोरखबर   १३ असोज, २०७७



असोज १३,काठमान्डौ । जिल्ला अदालत काभ्रेले बुहारी रञ्जनाको हत्या अभियोगमा नमोबुद्ध नगरपालिका-८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। 

अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ। बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका छन्।

रञ्जनाको पति शङ्कर धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् । जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत थिइन्। रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post