व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धान अघि बढ्यो !

 कोरखबर   १२ असोज, २०७७



असोज १२,काठमान्डौ । शंकर समूहका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंमा कालोबजारी सम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले थप अनुसन्धान अगाडि बढाएको छ । विभागले सुलभसहित शंकर समूहका शंकरलाल र साहिल अग्रवालमाथि पनि अनुसन्धान अगाडि बढाएको हो ।

मुद्दामा गत वैशाख १८ गते अदालतले रू. २५ लाख ५० हजार धरौटीमा सुलभ अग्रवाललाई छाड्न आदेश दिएको थियो । त्यसलगत्तै सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न प्रहरीले पुनः पक्राउ गरेर विभागमा बुझाएको थियो । विभागले सोही दिन सुलभलाई सामान्य सोधपुछ गरेर बन्दाबन्दीपछि अनुसन्धान गर्ने भनेर छोडिदिएको हो ।

अहिले बन्दाबन्दी खुकुलो भएपछि उनीमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । सुलभसहित शंकर समूहमा आबद्ध सबैमाथि अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ । यसअनुसार विभागले शंकर समूहका शंकरलाल र साहिल अग्रवालमाथि पनि सम्पत्ति शुद्धीकरणका विषयमा अनुसन्धान गरिरहेको छ ।

‘अहिले आवश्यक सूचनाहरू संकलन गर्ने काम भइरहेको छ । छानविनको क्रममा रहेकाले केही भन्न मिल्दैन,’ उनले भने, ‘समग्रमा उनीहरूले गरेको ठगी धन्दालाई अनुसन्धानको दायरामा ल्याएका छौं ।’

शंकर समूहअन्तर्गतका कम्पनीहरूको सम्पत्ति र जायजेथाको विवरण संकलन गर्ने काम भइरहेको छ । सम्पूर्ण विवरण संकलन भएपछि समूहका अध्यक्ष, प्रबन्ध निर्देशक र सञ्चालकलाई बयानका लागि बोलाउने विभागको तयारी छ ।

सुलभमाथि अनुसन्धान गर्दा शंकर समूहले गरेको शंकास्पद व्यवसायका विषयमा अन्य रहस्य पनि खुल्दै गएको विभागको भनाइ छ । सोहीअनुसार नै अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ । विशेषगरी शंकर समूहले कमाएको सम्पत्तिको स्रोत खोज्ने विषयमा अनुसन्धान भएको विभागले बताएको छ ।

कोरोना भाइरसको संक्रमण शुरू हुँदा सुलभ अग्रवालले महँगो शुल्क लिएर थर्मल गन विक्री गरेका थिए । सोही क्रममा नै उनी पक्राउ परेका थिए । सोही मुद्दामा रहेर अनुसन्धान गर्दा शंकर समूहको अन्य ठगी धन्दाको रहस्य खुल्दै गएको हो । हाल शंकर समूहले त्यसरी कमाएको सम्पत्तिबारे छानविन गरिरहेको विभागले बताएको आर्थिक अभियान दैनिकमा खवर छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post