सुन्धाराको गेष्ट हाउसबाट प्रचण्डदेव रंगेहात समातिए........

 कोरखबर   ८ असोज, २०७७



८ असोज, काठमाडौं । सुन्धारको एउटा गेष्टहाउसमा मादकपदार्थ सेवन गरी राति अवेरसम्म होहल्ला गरी बसेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घटना बुधबार रातिको  हो ।  महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए ।

त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मादक पदार्थ सेवन गरेर बसेका थिए । उनको साथमा एक युवती र अन्य केही व्यक्ति पनि थिए ।

सोधपुछ गर्दा ती व्यक्तिले केही ‘गन्यमान्य’ व्यक्तिको नाम लिँदै प्रहरीलाई अभद्र व्यवहार गर्न खोजेपछि प्रहरी टोलीले सामान्य बल प्रयोग गर्दै खनतलासी लियो । उनको साथमा ११ लाख रुपैयाँ बरामद भयो । ‘ठूलो परिमाणमा रकम बरामद भएपछि उनी व्यापारी हुन् कि भन्ने अनुमान प्रहरीले लगायो । उनले उक्त रकमको स्रोत खुलाउन सकेनन् । प्रहरीले उनको परिचय पत्र माग्यो, उनी नेपाल सरकारको अधिकृत प्रचण्डदेव बिष्ट भएको खुल्यो ।

उनी महाकाली सिँचाइ आयोजना, कञ्चनपुरको निमित्त प्रमुखको रुपमा कार्यरत भएको थाहा पाएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गर्‍यो । आयोगको टोली घटनास्थलमा पुगेपछि बिष्टलाई थप कारबाहीका लागि आयोगकै जिम्मा लगाइएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post