१८ महिनामा बन्ने पुल चार वर्षमा बल्लबल्ल सकियो !

 कोरखबर   ४ असोज, २०७७



असोज ४, बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् ।  पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । 

विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो । 

ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो ।

फाउन्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिलाइ भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारिक प्रतिनिधि कुमार खड्काले जानकारी दिए । “पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ”, खड्काले भने, “तीनपटक निर्माण गर्ने समयमा पुलका निर्माण सामग्री बगायो, एक श्रमिककै मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो ।” 

पुल निर्माणकर्ता डिभिजन सडक कार्यालयले पुल हस्तान्तरण गर्न बाँकी रहेको बताएको छ । पुलको आसपासमा ग्याविनको काम बाँकी रहेको र त्यो काम सम्पन्न हुनासाथ पुल जिम्मामा आउने डिभिजन सडक कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताए । 

पुल आरसिसी मात्रै नभएर प्रि–स्टेटेस प्रविधिको भएको कार्यालयको भनाइ छ । पुलको बिममा रडको प्रयोग नगरी केबलको प्रयोग गरिएको कार्यालय प्रमुख लम्सालले बताए ।  रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post