नेपाली संविधानको पाँच वर्ष : कानुन निर्माणमै वित्यो !

 कोरखबर   ३ असोज, २०७७



काठमाडौं, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट पाँच वर्ष पुरा भएको छ । वि।सं।२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो । सरकारले आज संविधान दिवसको अवसरमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

मुलुक संघीय संरचनामा अघि बढेको पनि दुई वर्ष पुरा भइसकेको छ । यता, सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्ट पक्षले असोज ३ अर्थात् आजको दिनलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै छ । असन्तुष्ट पक्षले संविधान जारी हुँदा ‘ब्ल्याक आउट’ गरेको थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को अग्रसरतामा संविधान जारी हुँदा तराई–मधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् । ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए ।

संविधान जारी भएका पाँच वर्षमा आइपुग्दा यसले परिकल्पना गरेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुरुप तीन तहको सरकारको संरचना तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । मौलिक हकका कानूनहरु बनिसकेका छन् । तर तदअदुरूपका नियमावली नबन्द मौलिक हक नै कार्यान्वयन हुन सकेका छैनन् । प्रदेश र स्थानीय तहका कानूनहरु पनि प्रायः बनिसके पनि कार्यान्वयनको पाटो निराशाजनक छ । संविधान संशोधनका आवाज उठ्ने गरे पनि अझै ती मागको पनि सुनुवाई भएको छैन ।

नेपालको संविधानमा व्यवस्था गरिएका ३१ वटा मौलिक हकको तीन वर्षभित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएको थियो । तीन वर्षभित्र कानून बने तर नियमावली बनाएर लागू गर्ने भनिएको अझै आवास र खाद्य सम्प्रभूतासम्बन्धी नियमावली बन्न सकेको छैन ।पाँचवर्षसम्म मौलिक हक नै कार्यान्वयमा आएको छैन । संविधान जारी भएपछि संविधानअनुरुपका कानून निर्माणमा समय बितेको देखिन्छ । हालसम्म सङ्घमा १५८ कानून निर्माण भएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post