बालिकालाई कुटपिट गर्ने श्रेष्ठ दम्पती फरार, छोरा प्रहरीको नियन्त्रणमा

 कोरखबर   २४ भदौ, २०७७



विराटनगर : घरभित्र पसेको भन्दै एक बालिकामाथि कुटपिट भएको छ । मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीमा एक दलित बालिकामाथि छिमेकीले निर्घात कुटपिट गरेको छन ।१२ वर्षीया फूलसरी मग्राती (सार्की) माथि छिमेकीबाटै कुटपिट भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

बालिकामाथि स्थानीय ६० वर्षीय नन्दलाल श्रेष्ठ, श्रीमती ४७ वर्षीय निर्मला श्रेष्ठ र छोरा २३ वर्षीय अमीर श्रेष्ठले कुटपिट भएको अनुसन्धानबाट  खुलेको एसपी खड्काले बताए । बालिकाकी आफन्त दुर्गाकुमारी रोकाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुधबार जाहेरी दिएपछि घटना बाहिरिएको थियो ।

दुर्गाकुमारीको बयानका अनुसार श्रेष्ठको घरमा बालिका फ्रिजमा आइस जमेको पानी लिन पसेकी थिइन् । दुर्गाकुमारीकी ६ वर्षीया नातिनी लडेर चोट लागेपछि घाउ सेक्न फ्रिजमा जमेको आइस निकाल्न भनेर फूलसरी मग्राती श्रेष्ठको घरमा पसेपछि परिवारै लागेर कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘कुटपिट हुन थालेपछि बालिका चिच्याएको सुनेर छुट्याउन म गएँ,' दुर्गाकुमारीले भनिन्, 'यस्तो गर्न हुँदैन भन्दा मलाई पनि लछारपछार पार्दै कुटपिट गरियो ।' उनका अनुसार दुई महिना अगाडि पनि श्रेष्ठ परिवारले ६ वर्षीया नातिनीलाई घरभित्र पसेको भन्दै कुटपिट गरेका थिए ।

सानैमा आमाबुवा बेपत्ता भएपछि दुर्गाकुमारीले नै आश्रय दिएर उनलाई पालिरहेकी छन् । कुटपिटबाट घाइते भएकी बालिकाको उपचार र स्वास्थ्य परीक्षण उर्लाबारीकै मंगलबारे अस्पतालमा भएको छ । किटानी जाहेरी परेपछि प्रहरीले कुटपिटमा संलग्न अमीरलाई पक्राउ गरेको छ । उनका बुवाआमा नन्दलाल र निर्मला फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्नविरुद्ध जातिय छुवाछुत ऐन अन्तर्गत कारबाही अघि बढाउन घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

कुटपिटबाट बालिकाको ढाडमा लागेको चोट लागेको छ ।  घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारी जानकारी दिएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post