कर्मचारीहरु निष्ठावान र उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री ओली

 कोरखबर   २२ भदौ, २०७७



२२ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको बताउनुभएको छ। 

निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको हो । 

‘निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ,’ उहाँले सन्देशमा भन्नुभएको छ। 

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाउने गरिन्छ। विसं २०१३ सालमा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य रहेको प्रधानमन्त्रीले बताउनुभएको छ। 

‘आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ,‘यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ। यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ।’

दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने प्रधानमन्त्रीले शुभकामना पनि व्यक्त गर्नुभएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post