रामेछापमा फुड बैंक संचालनको तयारी, विपन्न वर्गलाई राहत मिल्ने !

 राजिव कार्की   २० भदौ, २०७७



२० भाद्र, रामेछाप । कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण अहिले विश्व नै आक्रान्त छ । नेपालमा पनि कोरोनाको कारण विभिन्न क्षेत्र ठप्प भएको करिव ६ महिना भयो । महामारीका कारण झण्डै १८० दिन ठप्प रहेको नेपाल, पछिल्लो समय भने यसको प्रभाव हेरेर आंशिक खुल्ला छ । केहि उद्योग, कलकारखाना तथा कार्यालयहरु खुलेपनि धेरै क्षेत्र अझैपनि बन्द छन् । 

कोभिड १९ का कारण भएको बन्दाबन्दीबाट दैनिक काम गरेर गुजारा गर्दै आएका मजदुरहरु निकै प्रभावित छन् । ६ महिना सम्म काम चालु नहुँदा दैनिक ज्यालादारी गर्नेहरुलाई गुजारा चलाउन निकै मुस्किल हुन थालेको छ । 

उनिहरुको यही असहज दैनिकीलाई सहज बनाउन देशका विभिन्न ठाउँमा अभियन्ताहरुले फुड बैंकको स्थापना गरी संचालनमा ल्याएका छन् । विपद् पछि खाद्य संकट हुन नदिन काभ्रे , झापा,धरान,बैतडी,मोरङ,सुनसरी,दोलखा लगाएतका विभिन्न ठाउँमा अभियन्ताहरुले फुड बैंकको स्थापना गरेका हुन् । यहि क्रममा रामेछापमा पनि फुड बैंक स्थापनाको तयारी गरिएको छ । विपत्तको समयमा विभिन्न सामजिक काममा सक्रिय रासम (रामेछापका सहयोगी मनहरु) समुहले जिल्लामा फुड बैंकको स्थापनाको तयारी गरेको हो । 

रासम समुहले सदरमुकाम मन्थलीस्थित नगर विकास समितिको प्रयोगविहिन भवनमा फुड बैंक स्थापनाको तयारी थालेको छ । "हुनेले  दिएर जाऔँ,नहुनेले लिएर जाऔँ " भन्ने अवधारणा अनुसार फुड बैंक संचालनमा ल्याउन लागिएको हो । अवको केहि दिनमा फुड बैंक संचालनमा ल्याउने गरी व्यवस्थापनको काम भईरहेको रासमले जनाएको छ। फुड बैंक संचालनमा आएपछि दैनिक गुजारा चलाउन मुस्किल विपन्न परिवारलाई बैंकमा जम्मा भएका विभिन्न खाद्यान्नका सामानहरु सिमित मात्रामा निशुल्क वितरण गरिनेछ । 

देशभरीको अभियानलाई हेर्दा फुडबैंकमा दाताहरुले खाद्यान्न लगायत दैनिक जीवन यापनका लागि आवश्यक वस्तुहरु सहयोग गर्छन् । प्राप्त सहयोगलाई फुडबैंकका संचालकहरुले आवश्यकताका आधारमा विपन्न व्यक्तिहरुलाई न्यायोचित् रुपमा वितरण गर्ने गर्दछन् । यसले गर्दा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई धेरै राहत पुग्नेछ । 

मन्थलीमा संचालनमा ल्याउन  लागिएको फुड बैंकका लागी जिल्लाका उद्योगी व्यवसायी तथा सहयोगीहरुले सहयोगको वचन दिएको रासम समुहले जनाएको छ । सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले पनि त्यसका लागी सहमती जनाउँदै सहयोगको भाव प्रकट गरेको छ । बन्दाबन्दीको यो समयमा विभिन्न सामजिक कार्यक्रमा सक्रिय रासम समुहले माहामारीको  विषम परिस्थितिमा सहयोग गर्न सम्पुर्णमा अपिल पनि गरेको  छ । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post