मन्त्रिपरिषद बैठक आज , अर्थमन्त्री खतिवडाले राजिनामा दिने !

 कोरखबर   १९ भदौ, २०७७



१९ भाद्र, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।

बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् ।

उता, राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन् । तर गौतमको हकमा संसदको यो कार्यकालमा मन्त्री बन्न संविधान बाधक देखिने भएको छ ।

आजैको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post