व्यापारीलाई धम्क्याएर रकम असुल्ने गिरोह पक्राउ !

 कोरखबर   १७ भदौ, २०७७



१७ भदौ, काठमान्डौ ।  हातहतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । हातहतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका १ भारतीय र ४ नेपाली नागरिक गरी ५ जनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

कटहरी–२ आदर्शनगरका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा घरैबाट पेस्तोलसहित पक्राउ परेपछि गिरोहलाई नै प्रहरीले नियन्त्रणमा लिएको हो । शर्माको बयानको आधारमा सो गिरोहमा आबद्ध भारत सीतामणी घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदारको रूपमा रहेका २७ वर्षीय राजु साह, कटहरी( २ का २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबसाइन-८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह पक्राउ परेका हुन् ।

भारतीय नागरिक राजुलाई रेम्बो गल्ली, किसनलाई देवकोटा चौक र अभिषेकलाई विराटनगर–३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेकामध्ये गिरोहको मुख्य नाइके अभिषेश राय रहेको प्रहरीको भनाइ छ । उनले व्यापारीहरूलाई फोन गरी धम्की दिँदै चन्दा माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभिषेकले २५ असारमा फोन गरी विराटनगरका १ व्यापारीसँग १० लाख रुपैयाँ चन्दा मागेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार ती व्यापारीले २ पटक गरी ५ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ ।

उनले सो गिरोहलाई पहिलो पटक विराटनगरको गुद्रीमा १ लाख र दोस्रो पटक नोबेल हस्पिटल जाने नहरमा ४ लाख रुपैयाँ चन्दा दिएको खुलेको प्रहरीले जनाएको छ ।

गिरोहले दोस्रो व्यापारीलाई पनि धम्काएर १३ साउनमा चन्दा मागेका थिए । तर, ती व्यापारीले चन्दा दिन नपाउँदै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले मध्यम खालका व्यापारीलाई धम्काउने गरेको खुलेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post