काठमाण्डौ – काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि सकिंदै छ । तर अब के गर्ने भन्ने बारे निर्णय भइसकेको छैन । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञााको अवधि आज रातिदेखी सकिने भएकोले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा दिउँसो उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीच छलफल गर्न लागिएको जानकारी दिनुभयो । बुधबार दिउँसोको बैठकले थप निर्णय गर्ने उहाँले बताउनुभयो ।
यसअघी मंगलबार भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी परिवर्त गर्ने की भन्ने विषयमा छलफल भएको थियो । कतिपय विज्ञबाट निषेधाज्ञा केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।
उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएको बताउनुभयो ।
उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिंदै छ । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर १७ गते राति १० बजेसम्म पुर्याइएको हो ।