१४ भदौ, काठमाडौं । सांसदहरुले पछि फर्किने सम्झौता गरेर जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका छन् । पछिल्लो समय कैदी र बन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले यस विषयमा भर्चुअल माध्यमबाट बैठक राखी छलफल गरेको थियो ।
उक्त बैठकमा सांसदहरुले जेलमा क्षमता भन्दा धेरै कैदी बन्दी रहेको भन्दै कैद छुट गर्न मिल्नेको छुट गर्न र अन्यलाई पछि फर्काउन मिल्ने गरी घर पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सुझाव दिएका हुन् ।
बैठकमा (नेकपांं) का सांसद नवराज सिलवालले ५० प्रतिशत कैद भुक्तान गरिसकेका, गम्भीर प्रकृतिका मुद्धाका बाहेक अन्य मुद्धाका दोषीलाई कैद छुट दिन प्रस्ताव गरे ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पछि फर्काउन सक्ने गरी, बोलाएको बेला आउने गरी करार गरेर कैदीबन्दीलाई घर पठाउने प्रस्ताव गरे । यसो गर्दा कारागारमै कोरोना फैलिएर स्थिति भयाभह हुनबाट जोगाउन सकिने उनको भनाइ छ ।
पूर्व मन्त्रीसमेत रहेका (नेकपा) का सांसद लालबाबु पण्डितले ५० प्रतिशत कैद भुक्तान गरिसकेकालाई बाँकी सजाय छुट दिने र अन्यलाई पछि फर्किने करार गरेर पठाउन सकिने बताए । सांसदहरुले कोरोना संक्रमित कैदी बन्दीलाई छुट्टै राखेर उपचार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले कानुनले ५० प्रतिशत कैद भुक्तान गरेका कैदी बन्दीलाई छोडिहाल्न नसकिने बताए । तर, विभिन्न सन्दर्भ पारेर दिइने छुटका विषयमा अध्ययन गरिरहेको उनले उल्लेख गरे । हाल देशभर २४ हजार १६३ कैदीहरु छन् ।