काठमाडौँ, ९ भदौ । उपत्यका नगरपालिका मेयर फोरमले कोरोना संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको छ ।
उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्न तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने लागिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
निषेधाज्ञालई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको हो । यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो।
निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने मेयरहरुको भनाइ छ ।
मेयर फोरमको सोमबार बसेको बैठकले उपत्यकाका स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय पनि गरेको छ । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।