काठमाण्डौ- सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ । जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा सार्ने गरी काम सुरु भएको हो ।
आईतबार बिहानैबाट सुरक्षाकर्मी खटिएर टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम सुरु भएको छ । पहिलो चरणमा १ सय २१ परिवारलाई टेन्टमा राख्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । १ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने पहिचान भएका १ सय २१ परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामाग्री ढुवानी गरिएको छ ।
बस्ती स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय अनुसार शनिबार ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
स्थानान्तरणका लागी जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ भने जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउनेछ ।
जिल्ला स्वास्थ्य कार्यालयले भने स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने गरि कार्य विभाजन गरिएको छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।
सिन्धुपाल्चोकको लिदीमा साउन ३० गते शुक्रबार गएको पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परेको छ । बाँकी ७ जनाको पनि खोजी कार्य भैरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।