मलको अभाव : धानमा राख्न ढिलो भैसक्यो, सरकार अझै अलमलमा

 कोर खबर   १५ सावन, २०७७



काठमाण्डाै – धानबाली गोडमेल गर्ने बेला भैसक्दा पनि मलको समस्या उस्तै छ । रासायनिक मल नपाउँदा किसानलाई समस्या भएको छ । मनसुनले साथ दिएपछि समयमै धान रोपाइँ सकेका किसानलाई यो बेला युरिया मलको अभाव भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि झण्डै ७० हजार मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ । त्यसमा पनि साउनदेखि भदौसम्म १ महिना झण्डै ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर हरेक वर्षजस्तै यसवर्ष पनि किसानले समयमै मल पाउन नसकेका हुन् ।

मौज्दात मल 

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया, डीएपी र पोटास गरी जम्मा १६ हजार ३ सय ६० मेट्रिक टन मल मौज्दातमा रहेको छ । अहिले १ हजार ६० मेट्रिक टन युरिया, १२ हजार ८ सय मेट्रिक टन डीएपी र २ हजार ५ सय मेट्रिक टन पोटास मौज्दात छ । गएको असार १० गतेसम्म युरिया र डीएपी गरी १८ हजार मेट्रिक टन मल मौज्दात थियो । 

त्यसबेला कृषि मन्त्रालयले एक महिनाभित्रै मलको समस्या समाधान हुने भनेको थियो । तर एक महिना बितिसक्दा मौज्दात घटेको छ । तर भारतबाट आउने भनेको झण्डै ५० हजार मेट्रिक टन युरिया र डीएपी भने आइसकेको छैन । कृषि मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी ल्याउने तयारी भैरहेको छ । तर ल्याउने भनेको मल भारतमा अलपत्र परेको ४ महिना भैसकेको छ ।

बर्सेनि मलमा बहानाबाजी : यसवर्ष लकडाउन मुख्य समस्या

हरेक वर्ष कुनै न कुनै बहानामा मलको अभाव हुने गरेको छ । सरकारले बेलैमा मल ल्याउने भने पनि किसानले भने सास्ती खेप्दै आएका छन् । बर्सेनि सास्ती व्यहोर्न बाध्य किसान यस वर्ष कोरोना भाइरसको सङ्क्रमण र लकडाउनका कारण मल आउन नसक्दा मारमा परेका हुन् ।

कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले कोरोना संक्रमण र लकडाउनका कारण चाहेर पनि धानबाली सहित बर्खे बालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको जनाएका छन् । 

यसवर्ष समयमै बजेटको व्यवस्था गरे पनि कोरोना सङ्क्रमणपछिको लकडाउन, ठेकेदारको ढिलासुस्ती, भारतसँगको पछिल्लो तनाव लगायतका कारणले मलको अभाव भएको मन्त्रालयको दावी छ । कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले लकडाउनका कारण असार पहिलो हप्ता आउनुपर्ने मल अहिलेसम्म नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मल ल्याउनुपर्ने बेला लकडाउन भयो, लोड/अनलोड गर्ने र प्याकिङ्ग गर्ने कामदार पनि पाइएन, अनि गएको असारमै आउनुपर्ने युरिया मल निर्धारित समयमा आएन ।’ 

भारतमा अड्कियो २१ हजार ५ सय टन युरिया मल

झण्डै ४ महिनादेखि युरिया मल भारतमा अड्किएको छ । भारत गुजरातको कान्डला बन्दरगाहमा २१ हजार ५ सय मेट्रिक टन युरिया मल अड्किएको हो । ‘साल्टको २१ हजार ५ सय टन युरिया मल समयमा आएन’ प्रवक्ता केसीले भन्नुभयो, ‘धानबाली गोडमेल गर्नुपर्ने यो बेलामा पनि किसानले मलकै अभाव व्यहोर्नुपर्ने अवस्था आयो ।’ 

रोकिएको युरिया मल नेपाल आउन अझै एक महिना लाग्ने भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post