संकटमा व्यवसायीको लुट : भाडा ३५० छ,असुल्छन् ४ हजार

    ७ सावन, २०७७



दोलखा- तीन दिनअघि एक सरकारी कर्मचारी चरिकोटबाट काठमाडौं जान गाडीको खोजीमा सातदोबाटो निस्किए । काठमाडौं जान भनेर लागेका गाडी त भेटे तर भाडा सुन्दै उनको सातो गयो । चालकले भने भाडा त ४ हजार लाग्छ, जाने भए बस्नुस् नजाने भए अब सिट भरियो ।

ति कर्मचारी मात्र होइन हिजोआज काठमाडौं होस् वा अन्यत्र जहाँ जान पनि प्रचलित भाडा दरभन्दा चर्को भाडा असुल्ने गरेका छन् । चरिकोटदेखि काठमाडौंको दूरी १३३ किलोमिटर हो । सार्वजनिक यातायताको सरकारले तोकेको भाडा ३ सय ५० रुपैंया छ । तर आजभोली काठमाडौं चरिकोटको भाडा ३ हजारदेखि ५ हजारसम्म तिर्नु पर्ने बाध्यता छ ।

कोरोना भाइरस रोकथामका लागि लकडाउनपछि सार्वजनिक यातायत लामो समयदेखि बन्द छन् । लकडाउन खुकुलो भएसँगै सरकारले निजी (रातो नम्बर प्लेटका) गाडी मात्र सञ्चालन गर्न दिएपछि आपतमा परेको यात्रुहरू नराम्रोसँग ठगिन थालेका छन् । सरकारले सार्वजनिक यातायतका साधन सञ्चालन नगर्दा निजी गाडीले दशौं गुणा महँगो भाडामा यात्रु ओसारी रहेका छन् ।

आपत्कालिन अवस्थामा विरामी, मलामी वा विकास निर्माणका अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयले निजी गाडीलाई पासको व्यवस्था गरेको छ । तर निजी गाडीले त्यही पासको दुरुपयोग गर्दै चर्को भाडामा यात्रु ओसार्ने गरेका छन् । लकडाउन सहज भएसँगै गाउँ फर्केकाहरू सहर छिर्नेहरू बढेका छन् । जिल्लाभरमा मात्र सार्वजनिक यातायात केही दिनदेखि सञ्चालनमा छ । जिल्लाभित्र आवत जावत गर्न यात्रुलाई केही राहत भए तापनि अर्को जिल्ला जान र काठमाडौं छिर्नका लागि भने निजी गाडी धनीबाटै ठगिँदै आएका छन् ।

कालो प्लेटका गाडीलाई सरकारले नै कडाइ गरेपछि रातो नम्बर प्लेटका निजी व्यवसायिक प्रयोजनका लागि दर्ता भएका गाडीहरू अहिले यात्रु ओसार्नकै लागि सञ्चालनमा छन् । एउटा गाडी चरिकोटदेखि काठमाडौं पुग्न १० देखि १५ हजारसम्म असुल्छन् । एउटा गाडीमा सरकारले चालकसहित तीन जना मात्र बस्न मिल्छ । कहिले काँही आपत्मा हिड्नु पर्दा एकै जनाले सिंगै भाडा तिर्नु पर्छ । प्रहरीले अलि कडा जाँच गरेको बेला ति यात्रुलाई पनि गन्तव्यमा नपु-याई बनेपा वा धुलिखेलसम्म मात्र पु-याएर छाडिदिने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखाले पनि पास वितरणमा कडाइ गरेको छ । पासको दुरुपयोग गरेका केही गाडी र चालकलाई कारबाही समेत गरेको छ । यात्रुको गुनासो आएपछि ट्राफिक प्रहरीले समेत छड्के चेकजाँचलाई कडा बनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख राजकुमार दुलालले अनुगमणमा यात्रुहरू आफैं लुकीछिपी प्रहरीको आँखा छलेर चर्को भाडा तिरि रहेको बताए । काठमाडौंसम्म सिधै सार्वजनिक नचल्ला यात्रुहरूले दुःख भोग्नु परे ता पनि प्रहरीले नियमित अनुगमण गरिरहेको उनले बताए । उनका अनुसार केही दिनदेखि जिल्ला भित्र चल्न थालेका सार्वजनिक यातायातमा पनि बढी यात्रु राखेको सुरक्षात्मक उपाय अपनाएको नअपनाएको बारे ट्राफिक प्रहरीले अनुगमण गरिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post