डेव्यु खेलमै होन्डाले बनाए दुर्लभ कीर्तिमान,विश्व फुटबल चकित

    २५ चैत, २०७६



एजेन्सी– जापानी मिडफिल्डर केसुके होन्डाले ब्राजिलियन क्लब बोटाफोगोका लागि डेब्यु खेलमा नै गोल गरेपछि विश्व फुटबलमा दुर्लभ कीर्तिमान रचेका छन् ।

भर्खर मात्र ब्राजिलियन क्लब बोटाफोगोमा अनुबन्धित भएका होन्डाले ब्राजिलियन लिग काम्पेओनाटो करिओका अन्तर्गत बांगुविरुद्ध खेलमा गोल गरेका हुन् । उनले यस गोलसँगै दक्षिण अमेरिका महादेशमा पनि गोल गरे । यो उनले गोल गरेको पाँचौ महादेश हो । विश्व फुटबलमा ५ महादेशमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

होन्डा नेदरल्याण्डको भिटेस आर्नहममा केहि समय खेलेपछि ब्राजिलको लिगमा भित्रिएका थिए । उनी हाल क्याम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षक समेत हुन् । उनले खेलाडी दर्ता प्रक्रियामा केहि समय लाग्दा ब्राजिलियन क्लबबाट खेल्न कुर्नुपरेको थियो । तर डेब्यु खेलमै गोल गर्दै उनी क्लब फुटबलमा ५ फरक महादेशबाट गोल गर्ने पहिलो खेलाडी बने । होन्डाले यसअघि एसिया, युरोप, उत्तर अमेरिका र ओसेनियामा गोल गरिसकेका छन् ।

होन्डाले क्लब फुटबलमा रुसको सीएसकेए मस्को, इटालीको एसी मिलान, मेक्सिकोको पाचुका, अष्ट्रेलियाको मेलबर्न भिक्त्री, जापानको नागोया ग्राम्पसबाट लिग खेलिसकेका छन् । उनले यसक्रममा सबै क्लबका लागि गोल समेत गरे ।

३३ वर्षीय होन्डाले जापानका लागि ९८ खेल खेलिसकेका छन् । यसक्रममा उनले ३८ गोल गरे । जापानका लागि उनले ३ पटक विश्वकप खेलेका छन् । सन् २०१० मा दक्षिण अफ्रीका, २०१४ मा ब्राजिल र २०१८ मा रुसमा भएको विश्वकपमा उनी टोलीमा थिए । उनले सन् २०११ मा जापानलाई एसियन कप जिताउने क्रममा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post