कोरोना बारे अझै बाकि छ्न यी कुराहरु

    २४ चैत, २०७६



काठमाण्डो ,

कति मानिस सङ्क्रमित भएका छन्
यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो। तर यो निकै महत्त्वपूर्ण पनि छ। विश्वभरि लाखौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन्।

मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ। त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ।

यो कति घातक छ
कति मानिसलाई सङ्क्रमण भएको छ भन्ने तथ्य थाहा नभईकन मृत्युदर थाहा हुन सक्दैन। अहिलेसम्म विश्वमा सङ्क्रण भएका झन्डै एक प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ। तर यदि लक्षणै नदेखिएका सङ्क्रमितहरूको सङ्ख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ।

कोरोनाभाइरसका लक्षणहरू
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमणका मुख्य लक्षण हुन्। तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा सुँघ्ने लिने क्षमतामा कमी आएको पनि पाइएको छ।

विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन। उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ।

भाइरस फैलाउनमा बालबालिकाको भूमिका
केटाकेटीहरूले पक्कै पनि भाइरस समात्न सक्छन् र तिनलाई अरू व्यक्तिमा सार्न सक्छन्। प्राय: बालबालिकामा सामान्य लक्षण देखिन्छ। अन्य उमेर समूहका मानिसको भन्दा बच्चाहरूको मृत्युदर निकै कम रहेको छ।

प्राय: खेलमैदानमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल गर्छन्। उनीहरूले यो भाइरस निकै छिटोछिटो धेरै मानिसमा फैलाउन सक्ने हुनाले उनीहरूलाई ‘सुपर-स्प्रेडर’ मानिएको छ। त्यस्तो जोखिम हुने भए पनि केटाकेटीले त्यो भाइरस कतिसम्म फैलाउन सक्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

यो भाइरस कहाँबाट आयो
यो भाइरस सन् २०१९ को अन्त्यतिर मध्यचीनको वुहानमा पहिलो पटक देखिएको थियो। त्यहाँ पशुपक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको थियो।

औपचारिक रूपमा सार्स-कोभ-२ (Sars-CoV-2) नाम दिइएको कोरोनाभाइरस चमेराहरूलाई सङ्क्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ। त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ। त्यो अज्ञात जनावर प्रष्ट भइसकेको छैन। त्यो थप सङ्क्रमणको कारक पनि बन्न सक्छ।

के गर्मी याममा सङ्क्रमण कम होला
फ्लू वा रुघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी देखिने गर्छन्। तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रष्ट भइसकेको छैन।

ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोनाभाइरस सङ्क्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रष्ट नभइसकेको चेतावनी दिएका छन्। उनीहरूका विचारमा यदि त्यस्तो असर भइहालेमा त्यो फ्लूको भन्दा कम हुन्छ।

यदि कोरोनाभाइरस सङ्क्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ। त्यतिबेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ।

केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन्
धेरै मानिसमा कोभिड-१९ का सामान्य लक्षण मात्रै देखिन्छन्। तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन्। किन होला? मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ। त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नु पर्ने बिरामीको सङ्ख्या घटाउन त्यति नै ठूलो सहयोग पुर्‍याउन सक्छ।

मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला
कोरोनाभाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ। तर त्यसतो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन्।

यदि कुनै बिरामीको शरीरले कोरोनाभाइरसँग राम्ररी सङ्घर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ। तर यो रोग केही महिनाअघि मात्र देखा परेकोले यसबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन। कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय सङ्क्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ। त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ।

के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला
भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन्। तर उनीहरूको आनुवंशिक सङ्केतलाई चलाउँदा धेरै फरक पर्दैन। त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने समान्य नियम छ। तर त्यो निश्चित भने हुँदैन।

चिन्ताको विषय चाहिँ यो हो – यदि यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ। भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post