राजनीति

प्रधानमन्त्री बालेनको भिजनको नरेन्द्र मोदीद्वारा प्रशंसा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध आत्मीयता, विश्वास र साझा चुनौतीमा आधारित रहेको बताएका छन्। उनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको भेटवार्तापछि नेपालको विकासप्रति उनको स्पष्ट दृष्टिकोण आफूले महसुस गरेको समेत बताएका छन्।

सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरे।

गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपालको पुनर्निर्माण र विकासमा नयाँ ऊर्जा थप्न सहयोग प्याकेज घोषणा गरिएको बताए।

विज्ञापन

‘नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र होइन, यो आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो। हाम्रो खुसी र चुनौती दुवै साझा छन्,’ मोदीले भने, ‘हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा हौँ।’

उनले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, संस्कृति, आस्था र जनस्तरको सम्बन्धबाट मजबुत बनेको उल्लेख गरे। भगवान् राम र माता सीतालाई दुई देशको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा व्याख्या गर्दै मोदीले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, भारतले नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको छ। खाद्य प्रशोधन तथा मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न एग्रो–इन्डस्ट्रियल पार्क निर्माणमा समेत भारतले सहयोग गर्ने मोदीले बताए।

नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसर विस्तार गरिने पनि उनले जानकारी दिए।

नेपालका प्रधानमन्त्री बालेन शाहको प्रशंसा गर्दै मोदीले देश विकासका विषयमा उनको स्पष्ट भिजन आफूले महसुस गरेको बताए। केही घण्टाको कुराकानीका क्रममा बालेनको विकाससम्बन्धी सोचबारे आफूले बुझ्ने अवसर पाएको उनको भनाइ थियो।

नेपालको प्रधानमन्त्री बनेपछि संयुक्त राष्ट्रसंघको समारोहमा बालेनले दिएको मन्तव्यको समेत मोदीले प्रशंसा गरे।

त्यस्तै, भारतले नेपाललाई पेट्रोलियम पदार्थ, रासायनिक मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखेको उल्लेख गर्दै मोदीले नेपालको विकास र समृद्धिमा भारत साझेदारका रूपमा अघि बढ्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।