नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका छन्।
सोमबार गोरखा पुगेका दाहालले एमालेसहित अन्य कम्युनिस्ट घटकसँग पनि सहकार्य गरेर अघि बढ्ने समझदारी बनेको जानकारी दिएका हुन्। उनका अनुसार एमाले र मसालसँग संसद् तथा सडक दुवै मोर्चामा सहकार्य गर्ने सहमति भएको छ।
उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत मिलेर प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय भइसकेको बताए।

निर्वाचनमा सहकार्य गर्ने समझदारीसँगै कम्युनिस्ट पार्टीहरूबीच एकताको पहल पनि भइरहेको संयोजक दाहालको भनाइ छ। कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट शक्तिहरू एउटै केन्द्रमा आउनुपर्ने विषयमा छलफल भइरहेको उनले बताए।
‘एउटै पार्टी बनाउनुपर्छ भन्नेमा छलफल चलिरहेको छ। एमालेका नेताहरूसँग पनि संवाद भइरहेको छ। यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन,’ दाहालले भने।
उनले देशको बदलिँदो राजनीतिक परिस्थितिमा सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै एमालेसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे।
यसैगरी, प्रचण्डले नेपाली कांग्रेससहित संविधानसभा र शान्ति प्रक्रियामा सहभागी राजनीतिक शक्तिहरूसँग पनि निरन्तर छलफल भइरहेको बताए।
मधेस केन्द्रित दलहरूसँग समेत संविधान, गणतन्त्र, समावेशिता र संघीयताको रक्षाका लागि साझा मोर्चा बनाएर अघि बढ्ने विषयमा सकारात्मक छलफल भइरहेको उनको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।