समाज

देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

सात प्रदेशमध्ये मातृ मृत्युदर र बाल कुपोषणमा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि देखिएको छ। राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार लुम्बिनीमा प्रतिलाख जीवित जन्ममा २०७ जना आमाको मृत्यु हुने गरेको भयावह तथ्यांकमा उल्लेख छ।

लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको औसत मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १५१ जना छ। अन्य प्रदेशको तुलनामा लुम्बिनीको अवस्था चिन्ताजनक छ। तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा कम प्रतिलाख जन्ममा ९८ जना आमाको मृत्यु हुने गरेको छ। त्यस्तै सुदूरपश्चिममा १३०, मधेसमा १४०, कोसीमा १५७, गण्डकीमा १६१ र कर्णाली प्रदेशमा १७२ मातृ मृत्युदर रहेको छ।

मातृ मृत्युदरसँगै पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्थामा पनि लुम्बिनी प्रदेश संवेदनशील देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०२२ अनुसार यस प्रदेशमा बालबालिकामा पुड्कोपन २५ प्रतिशत र ख्याउटेपन १६.२ प्रतिशत रहेको छ। प्रदेशगतरूपमा तुलना गर्दा ख्याउटेपन सबैभन्दा बढी लुम्बिनी प्रदेशमै देखिएको हो, जबकि राष्ट्रिय औसत ७.७ प्रतिशत मात्र छ।

विज्ञापन

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार प्रदेशको सामाजिक संरचना, धार्मिक विश्वास र परम्परागत अभ्यासका कारण मातृ मृत्युदर उच्च देखिएको हो। विशेषगरी तराईका बाँके र कपिलवस्तु जिल्लामा घरमै सुत्केरी हुने, नियमित गर्भजाँच नगराउने र स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिले आमाहरूको ज्यान जाने गरेको छ। पहिले गर्भवती अवस्थामा आकस्मिकरूपमा अस्पताल आउँदा परीक्षण खर्च पाँच हजार रुपैयाँसम्म लाग्ने भएकाले आर्थिक अभावका कारण विपन्न महिला समयमै अस्पताल नजाने गरेको अध्ययनले देखाएको थियो। यद्यपि सन् २०२२ को सर्वेक्षणपछिका वर्षहरूमा यो संख्या क्रमश: घट्दो क्रममा रहेको सचिव श्रेष्ठले बताइन्।

मातृ मृत्युदरको भयावह अवस्था सुधार गर्न लुम्बिनी प्रदेश सरकारले तथ्यांकको गम्भीर विश्लेषण गरी प्रभावित क्षेत्र लक्षित विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गर्भावस्थामा जाँच गराउन नसक्दा मृत्युदर बढेको निष्कर्षपछि प्रदेश सरकारले आफ्नै ‘सुरक्षित मातृत्व अभियान’ लागु गरेको छ। सरकारको ‘आमा कार्यक्रम’ बाहेक प्रदेशले उपचार हुने अस्पतालहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा वर्गीकरण गरी गर्भवतीका लागि विशेष नि:शुल्क प्याकेज ल्याएको हो। आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर गर्भावस्थादेखि नै नि:शुल्क परीक्षण र उपचारको व्यवस्था मिलाइएको सचिव श्रेष्ठले जानकारी दिइन्।

प्रविधिको प्रयोगमार्फत गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको स्वास्थ्य अवस्था निगरानी गर्न प्रदेशले विशेष ‘डिजिटल एप’ समेत तयार पारेको छ। यस एपमार्फत कुन पालिकामा कति गर्भवती छन्, जाँच गर्ने मिति कहिले हो र कसले जाँच छुटाए भन्ने विवरण अनलाइनमै हेर्न सकिन्छ। जाँच गराउन छुटाएका महिलालाई फोन र म्यासेजमार्फत सचेत गराउने तथा सम्बन्धित स्वास्थ्य संस्थालाई समेत जानकारी जाने प्रणाली विकास गरिएको छ। गर्भावस्थामा कतिबेला जोखिम आउँछ भन्ने अनिश्चित हुने भएकाले हाल प्रचलित चारपटकको गर्भ जाँचलाई बढाएर ‘८ गर्भ कन्ट्याक्ट’ अर्थात् ८ पटक अनिवार्य जाँच लागु गर्ने प्रक्रियासमेत अघि बढाइएको छ।

यसैगरी प्रदेशको कुनै पनि स्थानमा आमाको मृत्यु भएमा ७२ घन्टाभित्रै विज्ञ टोलीले स्थलगत सर्वेक्षण गर्ने नियम बनाइएको छ। यसबाट मृत्युको वास्तविक कारण पत्ता लगाउने र अस्पतालको उपचार विधिमा रहेका कमजोरीको समग्र अध्ययन गरी सुधार गर्ने गरिएको छ। घरमा हुने सुत्केरीलाई शून्यमा झार्न प्रत्येक स्थानीय तहलाई ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गर्ने अभियानलाई पनि तीव्र पारिएको छ। हालसम्म पाल्पा जिल्लाका सबै स्थानीय तह पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अब जिल्लालाई नै घोषणा गर्ने तयारी भइरहेको छ।

आमा र बच्चाको पोषण सुधारका लागि प्रभावित क्षेत्रहरूमा बृहत् पोषण कार्यक्रम सञ्चालन गर्नुका साथै पारिवारिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गरिएको छ। यो कार्यक्रम पाल्पा, अर्घाखाँची, बाँके र नवलपरासीमा लागु भइसकेको छ भने प्युठान र कपिलवस्तुमा विस्तार गरिँदै छ। साथै मृत्युदर बढी भएका स्थानीय तहहरूमा प्रत्येक तीन वर्षमा विशेष निगरानी र कार्यक्रम केन्द्रित गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा संस्थागत सुत्केरीको दर ९६ प्रतिशत पुगिसकेकाले अब संख्याभन्दा गुणस्तरीय सेवामा ध्यान केन्द्रित गरिएको छ। कतिपय बर्थिङ सेन्टर र प्रसूति गृहमा कामको चाप अत्यधिक हुने र कतै कामै नहुने देखिएपछि तिनको आवश्यकता अध्ययन गरी ६६ वटा आधारभूत तथा बृहत् आकस्मिक प्रसूति सेवा केन्द्रलाई घटाएर ४८ वटामा झार्ने योजना बनाइएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेन्टरहरूलाई गाभ्ने र प्राथमिकीकरण गर्ने विषयमा पाल्पामा कार्यशाला गोष्ठी सम्पन्न भइसकेको छ भने बर्दियाबाट समेत मर्जको माग आएको छ। समयमै गुणस्तरीय सेवा प्रवाह गर्न सकेमा यी प्रयासले लुम्बिनीको मातृ मृत्युदरमा उल्लेख्य सुधार ल्याउने अपेक्षा प्रदेश सरकारले गरेको छ।

‘मातृ मृत्युदरको सर्भे भए पनि पछिल्लो समय लुम्बिनीमा सुधार भइरहेको छ’, उनले भनिन्, ‘अवस्था सुधारोन्मुख छ।’ भौगोलिक अवस्था र अशिक्षाका कारण पनि मातृ मृत्युदरको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ। गर्भावस्था, प्रसूति वा सुत्केरी भएको ४२ दिनभित्र आमाको मृत्यु हुनुलाई मातृ मृत्यु भनिन्छ। चिकित्सकीय जटिलता, सामाजिक संरचना र स्वास्थ्य सेवाको पहुँचमा हुने ढिलाइका कारण नेपालमा अझै पनि धेरै आमाले अकालमै ज्यान गुमाउने गरेका छन्।

चिकित्सकीय दृष्टिले हेर्दा गर्भावस्थामा देखिने उच्च रक्तचाप र सुत्केरी हुने क्रममा वा त्यसपछि हुने अत्यधिक रक्तस्राव मातृ मृत्युको सबैभन्दा प्रमुख कारण हो। समयमै रगत व्यवस्थापन नहुँदा र रक्तचाप नियन्त्रणमा नआउँदा आमाको ज्यान जाने गर्छ। यसका साथै असुरक्षित तरिकाले सुत्केरी गराउँदा वा सरसफाइमा ध्यान नदिँदा पाठेघरमा फैलिने संक्रमण, लामो समय व्यथा लागेर बच्चा जन्मिन नसक्ने समस्या र असुरक्षित गर्भपतनका जटिलताले पनि मातृ मृत्युदर बढाएको छ।

कतिपय अवस्थामा गर्भवती हुनुअघि नै महिलामा रहेका मुटु, मिर्गौला, मधुमेह तथा रक्तअल्पता जस्ता दीर्घरोग गर्भावस्थामा झन् जटिल बनेर मृत्युको कारण बन्छन्। पछिल्लो समय सुत्केरी हुनुअघि वा पछि देखिने गम्भीर मानसिक तनावका कारण हुने आत्महत्या पनि मातृ मृत्युको अर्को चिन्ताजनक पाटो बनेको छ। चिकित्सकीय कारणबाहेक सामाजिक र व्यावहारिक पक्षमा हुने ‘तीन ढिलाइ’ ले मातृ मृत्युमा ठूलो भूमिका खेल्छ। घरमै सुत्केरी गराउने चलन, धार्मिक विश्वास र नियमित गर्भ जाँच नगराउने बानीले समस्या जटिल नहुञ्जेल अस्पताल लैजाने निर्णय नै ढिलो गरिन्छ। यस्तै यातायात र आर्थिक अभावका कारण समयमै अस्पताल पुग्न नसक्दा तथा अस्पताल पुगेपछि पनि दक्ष जनशक्ति र उपकरण अभावमा गुणस्तरीय उपचार पाउन ढिलाइ हुँदा आमाको मृत्यु हुने गरेको छ।

यसबाहेक कम उमेरमै विवाह र गर्भधारण गर्नु, छिटोछिटो बच्चा जन्माउनु तथा गर्भावस्थामा पोसिलो खानाको कमी हुनुले आमाको शरीर कमजोर भई मृत्युको जोखिम झन् बढाउने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।