कात्तिक ४, झापा । झापा जिल्लाका ४ पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ रकम आएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई सहयोग रकम वितरण गर्न शुरू गरेको छ ।
डब्ल्यूएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका–१, २ का ३६८, झापाको वडा नम्बर १, २, ३, ६ का ६७२, कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २, ४, ५, ६, ८, ९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए ।
उनका अनुसार विगत वर्षमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विपद्को उच्च जोखिममा रहेका परिवारको ‘सर्भे’ गरी तथ्यांक संकलन गरिएको आधारमा हाल प्रतिपरिवार १३ हजार ५०० रुपैयाँका दरले रकम वितरण भइरहेको छ ।
सर्भेमा सम्भाव्य विपद्को उच्च जोखिममा रहेको परिवार वा विपद् संकटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण संकलन गरिएको थियो ।
डब्ल्यूएफपीले पठाइदिएको रकम विरणमा सहजीकरण मात्र नेरेसोले गरेको सभापति ढकालको भनाइ छ । सो रकम तत्काल आएको बाढीले क्षति पुर्याएका वासिन्दा वा धानखेतीको क्षतिपूर्ति भने नभएको उनले प्रस्ट पारे ।
रेडक्रसले बमौसमी वर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारलाई राहतस्वरुप भाँडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडा समेत वितरण गरिरहेको उनले बताए । –रासस