माघ ११, काठमाडौं । नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने नियम बनाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार १० माघबाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको छ । गाउँपालिकाले सबै हवाई कम्पनीलाई पत्र काटि यस्तो जानकारी गराएको छ ।
अहिले लुक्लामा काठमाडौं र रामेछापको मन्थलीबाट उडान भइरहेको छ।अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिलाई पासाङल्हामु निकोल निक्की अस्पताल लुक्लामा एन्टीजिन परीक्षण गर्न स्वाव संकलनको व्यवस्था मिलाइएको छ।
कोभिड १९ को संक्रमण दर घट्दै गएको, नेपाल सरकारले लकडाउनलाई पूर्णतया हटाएको साथै कोरोनाको खोप समेत लगाउनु शुरु गरेको सन्दर्भमा गाउँपालिकाले समेत अब निषेध हटाउने निर्णय गरेको बताएको छ । गाउँपालिकाको यो निर्णयसँगै सगरमाथा आधार शिविरको यात्रामा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज हुने भएको छ।