पुष १३, वीरगञ्ज । कोरोना महामारीले बन्द रहेका पर्यटकीय गन्तव्य ब्युँझाउन चितवनको सौराहाका पर्यटन तथा होटल व्यवसायीहरु लागि परेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि पर्यटकीय क्षेत्रको रुपमा रहेको सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० देखि ४० प्रतिशत छुटको प्याकेजसहित व्यवसायी देश दौडाहामा निस्किएका छन् ।
अभियान मार्फत पहिलो चरणमा प्रदेश १ र प्रदेश २ का विभिन्न सहर पुगेर व्यवसायीहरुले सौराहा आउन निम्तो दिएका छन् । पुस १० गते प्रदेश १ को धरान पुगेको टोलीले विराटनगर पछि प्रदेश २ को जनकपुर, बर्दिबास र वीरगञ्जमा पुगेर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।
होटल तथा पर्यटन व्यवसायी, उद्योगी, स्थानीय जनप्रतिनिधि, ट्राभल एण्ड टुर्सका प्रतिनिधि लगायत सरोकारवालालाई भेटेर उनीहरुले सौराहा आउन आग्रह गरेका हुन् । होटल व्यवसायी संघलाई अभियानमा जिल्ला समन्वय समिति, चितवन, रत्ननगर नगरपालिका र नेपाल पर्यटन बोर्डले अभियानमा साथ दिएको छ ।
सिमानाका खोल्नुपर्नेमा जोड
सौराह घुम्न आउनका लागी निम्तो बाँढ्दै हिँडेका व्यवसायीहरुले कोरोना महामारीका कारण थलिएको होटल तथा पर्यटन व्यवसायलाई माथि उकास्न नाका खोल्नुपर्नेमा जोड दिएका छन् ।
वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्नेहरुले वीरगञ्जबाट नै देशभर पर्यटक जाने भएपनि नाका हुँदै भारतीय पर्यटकलाई आउन रोक लाग्दा व्यवसायले गति लिन नसकेको ठोकुवा गरे ।
‘पर्यटन क्षेत्रमा ७० प्रतिशत भन्दा बढी भारतीय पर्यटक आउँने गरेको तर कोरोना नियन्त्रणको नाममा नाका बन्द गरिदा यसले पर्यटन क्षेत्रलाई झनै ध्वस्त पारिरहेको उनिहरुको वुझाई छ ।
वीरगञ्जदेखि सौराहासम्म पर्यटकीय बस सेवा
आन्तरिक तथा वाह्य पर्यटक तथा आम नागरिकलाई आउजाउ गर्न सजिलो हुनेगरी वीरगञ्जदेखि सौराहासम्म पर्यटकीय बस सेवा सञ्चालन गरिने भएको छ ।
त्यसका लागी आवश्यक तयारी थाल्न विरगञ्ज र सौराहा (दुवै तर्फ) का सरोकारवाला सहमत भएका छन् । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एकजना पर्यटक नेपाल आउँदा दुई जनाले रोजगारी पाउने बताए । चीनको अर्थतन्त्रमा आन्तरिक पर्यटनको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले रत्ननगरसँग भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न वीरगञ्ज तयार रहेको बताए ।
रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बमले आन्तरिक पर्यटन चलायमान गराउन सके व्यवसायी होटल तथा पर्यटन व्यवसायबाट पलायन हुन नपर्ने बताए ।
एउटै भुगोलमा असिमीत आनन्द
पूर्वी सहर विराटनगर, धरान, इटहरीबाट ३ सय ८५ किलोमिटरको दूरीमा रहेको छ, सौराहा । सौराहा पुगेपछि त्यहाँको निकुञ्जमा रहेका ५ सय बढि गैंडा, करिव डेढ सयको संखयामा रहेका बाघ अवलोकन गर्न पाइनुका साथै जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयूर अनगन्ती देख्न सकिन्छ ।
सौराहामा अर्को छुटाउन नहुने डुंगा यात्रा पनि हो । राप्ती नदीमा ४५ मिनेट डुँगा चढ्न पाइन्छ भने डुँगामा बसेर नदी किनारमा सुस्ताइरहेका गोही हेर्दै आनन्द लिन सकिन्छ । जाडो याममा साइबेरियादेखिका चरा नदीमा आउने र रमाउने गरेका छन् ।
सौराहामा जलयात्रा सकिनेबित्तिकै १० मिनेटको हिँडाइमा हात्ती प्रजनन केन्द्र पुगिन्छ, जहाँ विभिन्न उमेरका हात्तीका छावा देख्न सकिने भट्टराईले बताए । यस्तै, बीसहजारी ताल भ्रमण, थारु सांस्कृतिक कार्यक्रम, थारु गाउँलगायतका पर्यटकीय क्षेत्र अवलोकन गर्न सकिन्छ ।
त्यसैगरी सौराहा नजिकैका धार्मिक पर्यटकीय गन्तव्य देवघाट, श्वाशतधाम, माडी, अम्ब्रेला स्ट्रिट, मौलाकालिका मन्दिर र परेवाकोटजस्ता स्थानको भ्रमण गर्न पनि सकिन्छ ।