देशभर चिसो बढ्दै : १० डिग्रीमा झर्यो काठमाडौँको तापक्रम !

 कोरखबर   २१ कार्तिक, २०७७



काठमाडौं, २१ कात्तिक । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस थियो ।

मौसमविद् समिर श्रेष्ठका अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ ।

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post