काठमाडौं– भाटभटेनी ग्रुपले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा कुनै एक कम्पनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा मिडियामा समाचार प्रकाशित भएको र यससन्दर्भमा भाटभटेनी समूहको नाम पनि जोडिएकोमा समूहको ध्यान आकृष्ट भएको जनाएको छ ।
अहिले विवादमा रहेको कंपनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउने गरेको भाटभटेनीले जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो ।’
विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार संप्रेषण गर्ने समाचार संस्थाहरूलाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि हामी सादर अनुरोध गर्दछौं ।’
विज्ञप्ती जस्ताको तस्तै
भाटभटेनी सुपर स्टोर्सको स्पष्टीकरण
२०७६ चैत्र २१ — कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा देशले निकै असहज परिस्थितीसँग जुध्नु परिरहेको यथार्थ यहाँहरू सबैमा विदितै छ । यस्तो अवस्थामा कुनै एक कंपनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा अहिले मिडियामा समाचार प्रकाशित भएको र यस सन्दर्भमा भाटभटेनी समूहको नाम पनि अनर्गल तवरले जोडिएकोमा हाम्रो समूहको ध्यान आकृष्ट भएको छ । अहिले विवादमा रहेको कंपनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको छ । उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ । भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्पक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो । सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार संप्रेषणगर्ने समाचार संस्थाहरूलाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि यही विज्ञप्ति मार्फत हामी सादर अनुरोध गर्दछौं । संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि यहाँहरूमा अनुरोध गर्न चाहन्छौं । हाम्रो संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको छ । प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीज्यूहरूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न गर्नेछौं । त्यस्तै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी हामीले घर–घरमै पु¥याउने व्यवस्था गरिरहेको पनि जानकारी गराउन चाहन्छौं । भाटभटेनी सुपरस्टोर्सको स्पष्टीकरण आफ्नो चर्चित मिडिया मार्फत संप्रेषण गरेर जनतामा सही सूचना पु¥याउन नेपालको चौथो अंगका महत्वपूर्ण समाचार संस्थाहरूमा हार्दिक अनुरोध गर्दछौं ।