काठमाडौं, २१ जेष्ठ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद्का निर्णय सावर्जनिक गर्ने क्रममा मन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ।

उनले भने, ‘संसद अवरुद्ध छ । संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानविन समिति गठन होस् भन्ने छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने छ ।’