नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि सबै तरिकाले तयार रहन निर्देशन दिएका छन् । निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने
निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले भए पनि एमाले सहभागी हुने बताए । उनले एमाले विजय हुने पनि बताए ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढंगले सुरु भएको टिप्पणी गरे । उनले नेपाली जनताको सचेतनाका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन भने नसकेको बताए ।

“जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो,” ओलीले भने ।वर्तमान सरकार असंवैधानिक भएको र संसद् अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्दै ओलीले प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको प्रष्ट पारे ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको उनको भनाइ छ ।

विगतमा संसद् विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै ओलीले यो कसैको निजी विषय नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु आवश्यक रहेको बताए ।