लुम्बिनीमा प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

 कोरखबर   ३१ सावन, २०७८



साउन २९, बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्। प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री केसीले भने–‘हामीले आह्वान भएको अधिवेशनमै छिटै नै विश्वासको मत लिनेछौँ, ढिला गर्दैनौँ।’

विश्वासको मत लिएर मन्त्रिमण्डल बिस्तार र गठबन्धन सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ। संघीय सरकारमा जसरी नै लुम्बिनीमा गठबन्धन सरकारले साझा कार्यक्रम ल्याउने बताएको छ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन गरेर ल्याउने र कार्यक्रमहरु पनि संसोधन गर्ने मुख्यमन्त्री केसीले जनाएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post