सिन्धुपाल्चोक अदालतले उठाउन सकेन् जरिवाना बापतको ४३ करोड ७८ लाख

 कोरखबर   ७ सावन, २०७८



श्रावण ७ , सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अदालतले फैसला कार्यान्वयन गरी जरिवाना तोकिएको ४३ करोड ७८ लाख ११ हजार ९६९ रुपैयाँ उठाउन सकेको छैन ।

आर्थिक वर्ष २०७७/७८ मा अदालतले ४६ करोड ९० लाख ११ हजार ४८९ रुपैयाँ जरिवाना उठाउनुपर्नेमा ३ करोड ११ लाख ९९ हजार मात्र जरिवाना उठाएको हो ।

‘फैसला कार्यान्वयन गरी तोकिएको जरिवाना कोभिडका कारण हामीले उठाउन सकेनौं,’ जिल्ला न्यायाधीश चन्द्रप्रसाद तिवारीले भने, ‘चालू आर्थिक वर्षमा यी जरिवाना उठाउन हाम्रो प्रयत्न रहनेछ ।’

विभिन्न मुद्दाका विदेशी नागरिक बढी रहेकाले जरिवाना उठ्न नसकेको अदालतले बताएको छ । विदेशी नागरिकबाट मात्रै २७ करोड ८५ लाख ८१ हजार रुपैयाँ उठ्न बाँकी छ । ‘अदालतले जरिवाना तोकेका विदेशी नागरिक बढी भएकाले पनि जरिवाना उठाउन समस्या परेको छ,’ तिवारीले भने ।

गत आर्थिक वर्षमा अदालतले ३३९ ओटा मात्रै मुद्दा फर्छ्योट गरेको छ । कुल ८३१ मुद्दामा ४० दशमलव ७९ प्रतिशत मुद्दा फर्छ्योट भएको तिवारीले बताए । ‘गत आर्थिक वर्षमा लामो समय मुद्दा हेर्न सकिएन,’ उनले भने, ‘हाम्रो काममा कोभिड–१९ को संक्रमणले निकै बाधा पुर्‍यायो ।’ अदालतका अनुसार ४७३ देवानी मुद्दामध्ये २४३, १९१ फौजदारी मुद्दामध्ये ९५, बालबालिका सम्बन्धी ५७ ओटा मुद्दामध्ये १० र ज्येष्ठ नागरिकसम्बन्धी २३ मुद्दामध्ये ६ ओटा मात्रै फर्छ्योट गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा जबर्जस्ती करणी उद्योगको ३२, घरेलु हिंसाको एक, सम्बन्धविच्छेदको २२४ र मानाचामलको ११ मुद्दा दायर भएको थियो 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post