प्रचण्ड–नेपाल पक्षको विरोध प्रदर्शन, हजारौँ कार्यकर्ता काठमान्डौमा !

 कोरखबर   ९ माघ, २०७७



माघ ९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – नेपाल पक्षले आह्वान गरेको विरोध प्रदर्शन काठमाडौंका विभिन्न स्थानबाट शुरु भएको छ ।

विरोध प्रदर्शनका लागि विभिन्न जिल्लाबाट प्रचण्ड – नेपाल पक्षका नेता कार्यकर्ता काठमाडौं आएका छन् ।विभिन्न ठाउँबाट सुरु भएको विरोध प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट ‘डाईभर्सन’ गरिएको प्रहरीले जनाएको छ ।

नेकपाको प्रचण्ड – नेपाल समूहले काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनका विरुद्ध विरोध शुरु गरेको हो ।

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न नेकपाले युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिएको जनाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका र जुलुसलाई मर्यादित बनाउनका लागि निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेपछि प्रचण्ड – नेपाल पक्षले विरोध प्रदर्शन गर्दै आएको छ ।

काठमान्डौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला भएर नेकपाका कार्यकर्ताहरुले  सरकारको विरोधमा नारा जुलुस सुरु गरेका छन् । जसका कारण सवारी आवागमन पुर्ण रुपमा ठप्प भएका छन् । सवारीलाई अन्यत्रै ड्राईर्भट गरिदाँ सर्वसाधारण नागरिक भने समस्यामा परेका छन् । 

विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरिरहेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post